वस्तीमा परेको डढेलोका कारण पाल्पामा दुई जना घाइते

वैशाख २७, २०८० | पाल्पा

पाल्पाको रामपुर नगरपालिका–९, जब्गादी मधुकोट गाउँ नजिकैको जंगलमा लागेको डढेलो बस्ती पसेपछि निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

हिजो साँझ लागेको डढेलो निभाउने क्रममा स्थानीय दल बहादुर साठीघरे र उनको बुहारी लक्ष्मी साठीघरे घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको रामपुर अस्पतालमा उपचार भईरहेको छ ।

वस्ती पसेको डढेलोबाट दल बहादुर साठीघरे, ऐतुराम साठीघरे, खेम बहादुर साठीघरेको एक/एक तथा लोक बहादुर साठीघरेको दुई वटा घर जलेर नष्ट भएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिनुभयो । आगलागीबाट घरमा रहेका अन्न, लत्ताकपडा, नगद तथा गरगहना सबै जलेर नष्ट भएका छन् ।

आगो प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीय बासिन्दालको सहयोगमा नियन्त्रणमा आएको छ । वनको डढेलो भने अझै नियन्त्रणमा आएको छैन ।


प्रतिक्रिया