अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

वैशाख २०, २०८१ | बुटवल

अत्यधिक गर्मी बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बिहीबारदेखि दुई दिनका लागि विद्यालय बन्द गरेका छन् । 

बुटवल उपमहानगरपालिकाले एक सूचना जारी गर्दै गर्मी बढेको, तातो हावा चल्न थालेको र विद्यार्थी बिरामी पर्न सक्ने भन्दै दुई बिदा दिन सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको हो । 

उपमहानरगका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले केही दिनदेखि चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै बिहीबार र शुक्रबार विद्यालयमा बिदा दिइएको बताउनुभयो । 

‘बिहानैदेखि चर्को घाम र तातो हावा चल्ने गरेको छ, त्यसले विद्यालयका बन्द कोठामा विद्यार्थी बिरामी पर्न सक्छन्,’ उहाँले भन्नुभयो, ‘अभिभावकबाटै केही दिन विद्यालय बन्द गर्नु प¥यो भन्ने दबाब बढेपछि दुई दिनका लागि बन्द गर्ने निर्णय गरेका हौं ।’

अहिले गरिएको गर्मी बिदा वार्षिक बिदामा कटौती गर्ने गरी व्यवस्थापन गर्न पनि विद्यालयहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । बैशाखको पहिलो सातादेखि नै बुटवल–भैरहवा क्षेत्रमा गर्मी बढ्दै गएको छ । 

पछिल्लो एक साताको तापक्रम ३८ देखि ४३ डिग्री सेल्सियससम्म मापन भएको छ । बिहानैदेखि तातो हावा चल्ने गरेको छ । मंगलबार र बुधबार बुटवलमा ४२ र भैरहवामा ४३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । 

बुटवल–भैरहवा क्षेत्रमा असोजदेखि पानी परेको छैन । सडकको धूलो धूवाँसँगै लामो समय पानी नपर्दा वायुमण्डल दूषित बन्दै गएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. हरी पन्थीले गर्मी बढेपछि अस्पतालहरुमा बिरामीको भिड लाग्न थालेको बताउनुभयो । 

उहाँका अनुसार रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला, शरीर सुख्खा हुने, हाडजोर्नी दुख्ने, अचानक बेहोस हुने जस्ता समस्या लिएर बिरामी आउन थालेका छन् ।

‘त्यो सबै गर्मीकै कारण देखिने लक्षण हुन्,’ उहाँले भन्नुभयो, ‘घरभित्रै बस्ने र प्रसस्त पानी र झोलिलो खानेकुरा खानु नै उत्तम हुन्छ ।’ अत्यधिक गर्मी र तातो हावाले शरीर थाकेजस्तो हुने, कमजोरीपन महसुस हुने, आँखा धमिलो हुने लगायत समस्या पनि देखिने डा पन्थीले बताउनुभयो । 


प्रतिक्रिया