सात बुँदे घोषणापत्र जारी गर्दै बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न

वैशाख ३०, २०८० | लुम्बिनी

सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजना र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल नाट्टाको संयोजनमा गत बिहीबारदेखि लुम्बिनीमा मार्टको आयोजना गरिएको थियो ।

लुम्बिनीलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु तथा शान्ति गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने, लुम्बिनी र नेपालका अन्य बौद्ध स्थलमा पर्यटकको बसाइ बिस्तार गर्न विभिन्न गतिविधि सहितको साझा प्याकेज भ्रमण विकास गर्ने, पर्यटकलाई अन्तर्राष्ट्रिय सञ्जाल गतिविधिलाई प्राथमिकता दिने लगायत सात बुँदे घोषणापत्र जारी गरिएको हो ।

बुद्धसँग सम्बन्धित क्षेत्रका चार प्रमुख पवित्र स्थल नेपालको लुम्बिनी र भारतमा पर्ने बोधगया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलसँग बिस्तार गर्ने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा कनेक्टिभिटीको प्रवर्द्धन र बिस्तार गर्ने विषयलाई पनि घोषणा पत्रमा समेटिएको छ ।

सन् २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्ने निर्णय पनि मार्टले गरेको छ ।  


प्रतिक्रिया