सुनकोसीमा बेपत्ता तीन जनाको खोजी कार्य जारी

जेष्ठ २०, २०८० | सिन्धुली

सुनकोसी नदीमा जिप खसेर वेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)का कर्मचारीको खोजीकार्य आज पनि जारी छ ।

सिन्धुलीको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ को लौकुनबाट जीप खसेको नदी आसपासमा गोताखोरको टोलीले विहानैबाट खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यलयका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो ।

दुर्घटना भएको स्थान धेरै गहिरो भएकाले खोजीमा समस्या भएको उहाँले बताउनुभयो । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बा १ झ ७४६७ नं स्कार्पियो नदीमा खस्दा सीटीइभीटीका दुई निर्देशक र एक अधिकृत वेपत्ता भएका थिए ।

वेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासी प्रगती नगरपालिका ७का ५६ वर्षीय यमप्रसाद भुर्त्तेल र इलामका ३२ वर्षीय भानु पौडेल रहेका छन् । दाङ घर भएका चालक कृष्ण चौधरी भने पौडिएर बाच्न सफल भएका छन् ।


प्रतिक्रिया