भन्सार छलेर भित्र्याइएका करीब १५ लाख मूल्य बराबरका समान बरामद

वैशाख २२, २०८१ | भैरहवा

भारतबाट अवैध रुपमा भित्र्याइएका खाद्यान्न तथा घरायसी उपयोगका सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरीले विभिन्न स्थानमा गरेको जाँचका क्रममा भन्सार छलेर भित्र्याइएका १४ लाख ३६ हजार ७० रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी मनोहर भट्टका अनुसार सिद्धार्थनगर नगरपालिकाको मेउडिहवाबाट बेवारिसे अवस्थामा छाडिएका एक लाख ८४ हजार मूल्य बराबरका दुई थान एयर कन्डिसनर (एसी), ६ बोरा चिनी बरामद गरिएको हो । 

बुटवलस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार बुटवल–६ ट्राफिक चोकबाट ११ हजार रुपैयाँ मूल्यका ४४ थान लेगिन्ज बरामद गरेको थियो ।

ईलाका प्रहरी बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर–१, कोटियामाईमा बेवारिसे अवस्थामा राखिएका एक लाख ३२ हजार रुपैयाँ बराबरका ५० थान सडक बत्ती, तन्ना कपडाको एक रोल, कमिज सिलाउने कपडा एक रोल बरामद गरेको डीएसपी भट्टले जानकारी दिनुभयो । 

त्यस्तै कोटहीमाई–६, बोगडीघाटबाट १० हजार ७ सय रुपैयाँ मूल्यका विभिन्न ब्राण्डका पेय पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । रोहिणी–२, खुरहुरियाबाट ७७ हजार रुपैयाँ बराबरको भन्सार छलेर भित्र्याइएको इन्डिया गेट चामल, बदाम, काजु लगायत बरामद गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

इलाका प्रहरी बुटवलबाट खटिएको टोलीले बुटवल–३, स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत चिडिया खोलामा लु १ क ४२९६ नम्बरको ट्रक जाँच गर्दा बिल नभएका १० लाख २२ हजार एक सय रुपैयाँ मूल्य बराबरका १ सय ८ थान ग्यास सिलिण्डर, ६० बोरा चिनी बरामद गरेको जनाएको छ । 

समान बरामदसँगै ट्रक चालक गुल्मीको छत्रकोट–३, का ४३ वर्षीय भोजराज कँडेललाई पक्राउ गरेर आवश्यक अनुसन्धान र कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रन्जितसिंह राठौंरले भारतीय बजारमा समान खरिद गरेपछि भारतीय नागरिकले नै जिल्लाका बासिन्दाका घरसम्मै पुर्‍याउने गरेको जानकारीपछि अप्रेसन तीब्र पारिएको जानकारी दिनुभयो । 

‘भारतका बजारमा सामानको मूल्य चुक्ता गरेपछि भारतीयले नै घरसम्म ती सामान डेलिभर गरिदिने गुनासो आएपछि नियन्त्रण गर्न प्रहरी परिचालन गरेका छौं,’ राठौरले भन्नुभयो, ‘जसरी हुन्छ तस्करीलाई निरुत्साहित गर्न लागिपरेका छौं, यसमा नागरिकको सहयोग जरुरी छ ।’


प्रतिक्रिया