बारामा टोकन प्रणालीबाट नागरिकता वितरण गरिने

असार १०, २०८० | बारा

जिल्ला प्रशासन कार्यालय बाराले २०६३ मा नागरिकता टोली मार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतवारदेखि टोकन प्रणालीबाट वंशजको नाताले नागरिकता वितरण गर्ने भएको छ । कार्यालयले शनिवार एक सुचना प्रकाशित गरी यसरी नागरिकता वितरण गरिने जनाएको हो । कार्यालयमा जनशक्ति (कर्मचारी), साधन स्रोतको अभावसँगै सेवाग्रहीको बढ्दो चापलाई ख्याल गरी सहज, सरल, पारदर्शी र छिट्टो छरितो सेवा दिने उदेश्यले अनलाईन टोकन प्रणालीबाट नागरिकता वितरण गरिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । 

यसका लागि कार्यालयले वेबसाइट र क्यूआर कोडसमेत विकसित गरेको छ । ‘आइतवारबाटै यो व्यवस्था मिलाइएको छ,’ प्रमुख जिल्ला अधिकारी सापकोटाले भन्नुभयो ‘अनलाईन मार्फत नागरिकतासम्बन्धी विवरण प्रविष्ट गरेपछि तोकिएको दिनमा सेवाग्रहीले कार्यालयमा आएर सेवा लिन सक्नेछन् । यसरी गर्दा कार्यालयमा भीड पनि कम हुने र सेवाग्रहीलाई हैरानी पनि हुँदैन्, त्यसैले यस्तो व्यवस्था मिलाएका छौ ।’ कार्यालयमा कर्मचारी एकदम न्यून छ, त्यसमा पनि प्रतिलिपी उपलब्ध गराउने, मिटरब्याजको निवेदन हेर्ने काम पनि त्यतिकै धेरै छ, त्यसैले समस्या उत्पन्न भई टोकन प्रणाली लागु गरिएको उहाँले बताउनुभयो ।

नेपाल नागरिकता ऐन (पहिलो संशोधन) २०७९ कार्यान्वयन गर्ने क्रममा जन्मको आधारमा नागरिकता लिएको सन्तानलाई वंशजको नाताले नागरिकता दिन लागिएको हो । नागरिकतासम्बन्धी संवैधानिक र कानुनी अडचन र जटिलतालाई सर्वोच्च अदालतले विहिवार टुंगो लगाएपछि नागरिकता वितरण गर्न लागिएको हो । नागरिकता ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सवोच्चमा रिट परेको थियो । रिट परेपछि सर्वोच्चले अन्तरिम आदेश गरेको थियो । त्यसपछि अन्तिम सुनुवाई अन्तरिम आदेश खारेज भएपछि नागरिकता वितरण गर्ने बाटो खुलेको हो । 


प्रतिक्रिया