मौखिक सहमतिपछि प्रदेशसभा सञ्चालन

असार १८, २०८० | मकवानपुर

प्रतिपक्षी दलको लगातारको अबरोधका कारण अवरुद्ध हुँदै आएको वाग्मती प्रदेशसभा वैठक आजबाट सुरु भएको छ । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रतिपक्षीहरूको माग सरकारले सम्बोधन गर्ने प्रतिबद्धतापश्चात् प्रतिपक्षी सदन सुचारु गर्न सहमत भएको बताउनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले प्रतिपक्षीसंग सहमति गरेपछि बैठक सञ्चालन हुने भएको हो । सरकार र प्रतिपक्षी दलबीच लिखित सहमति भने भएको छैन । प्रमुख प्रतिपक्षी दल एमालेका नेता जगन्नाथ थपलिया, प्रतिपक्षी दल राप्रपाका नेता उद्वव थापा र नेमकिपाकी नेतृ सिर्जना सैंजूले असन्तुलित बजेट सन्तुलित गर्ने सहमति भएपछि अवरुद्ध संसद खोल्न आफूहरु सहमत भएको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले अब केही दिनभित्रमा बजेट पारित हुने र सबै एकताबद्ध भएर बागमती प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा आज प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ । बैठक भोलि ३ बजे पुनः बस्नेछ । 


प्रतिक्रिया