छायांनाथ राराका ३ हजार परिवार एक सातादेखि अन्धकारमा

श्रावण ३, २०८०

मुगुको छायांनाथ रारा नगरपालिकास्थित गमगाढ जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याउंदा ३ हजार घर परिवार एक सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय गमखोलाबाट बालुवा, लेदो बगेर गमगाढ जलविद्युत आयोजनाको नहरको पानी बग्न समस्या उत्पन्न भई विद्युत सेवा अवरुद्ध भएको छ । बालुवा र लेदो विद्युत गृहको नहरमा पसेपछि उत्पादनै बन्द भएको गमगाढ जलविद्युत आयोजना वितरण केन्द्र प्रमुख साजन ऐडीले बताउनुभयो । 

गमगढीमा लामो समयदेखि विद्युत सेवा अवरुद्ध हुंदा स्वास्थ्य संस्था, विद्यालय, सरकारी तथा गैर सरकारी निकायको दैनिक कामकाज, टेलिफोन र इन्टरनेट सेवा समेत प्रभावित भएको छ । यसैबीच, मुगुमा राष्ट्रिय विद्युत प्रसारण लाइन बिस्तारमा ढिलाई हुंदा समस्या भोग्नु परेको जिल्लावासीको गुनासो छ । छिमेकी जिल्ला जुम्ला, कालीकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाइन बिस्तार भए पनि मुगुमा अझै पुग्न सकेको छैन ।


प्रतिक्रिया