दुहबीका ८० विपन्न परिवारले पाए आवासीय घर

भाद्र १८, २०८० | सुनसरी

सुनसरीको दुहबी नगरपालिकाले दलित, सिमान्तकृत र अति विपन्न ८० परिवारलाई आवासीय घर हस्तान्तरण गरेको छ । नगरप्रमुख आवास योजना अन्तर्गत दुहबी–११ तनबुनामा निर्माण गरिएका ८० वटा घरहरु नगरका अति विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । 

कुल ७ करोड रुपैयाँको लगानीमा २ बिगाह २ कठ्ठा क्षेत्रफलमा निर्माण सम्पन्न भएको बस्तीमा ८० वटा दुई कोठे घर निर्माणका लागि २०७६ फागुनमा शिलान्यास भएको थियो । 

साढे ४ धुर क्षेत्रफलमा निर्माण गरिएको प्रत्येक घरमा शौचालय सहित खानेपानी, बिजुली जडान गरिएको नगरप्रमुख बेदनारायण गच्छदारले बताउनुभयो ।

आवासीय बस्तीमा बिवाह, ब्रतबन्ध लगायत बिभिन्न उत्सवको लागि सामुदायिक भवनको समेत ब्यवस्था गरिएको छ । घर हस्तान्तरणको लागि नगरपालिकामा परेको २ सय बढी आवेदनबाट छनोट भएका ८० परिवारलाई मात्र घर हस्तान्तरण गर्न सकिएको र बाँकी परिवारलाई पनि चाडै घर निर्माण गरी हस्तान्तरण गरिने नगर प्रमुख गच्छदारले बताउनुभयो ।

घर पाएका परिवारका बालबालिकाको शिक्षाको लागि नजिकैको विद्यालयमा निशुल्क पठनपाठनको ब्यवस्था मिलाइने र तीनका अभिभावकलाई पनि सीपमूलक तालिम प्रदान गरी स्वरोजगारको ब्यवस्था नगरपालिकाले मिलाउने जनाएको छ । आवासीय बस्तीको नियमित अनुगमन गरिने र घर ओगटेर अन्यत्र बसोबास गरे कारवाही गरिने नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया