सुहाङको संसदीय यात्रा

वैशाख २१, २०८१ | काठमाडौं

इलाम क्षेत्र–२ को उपनिर्वाचन जित्दै एमालेका सुहाङ नेम्वाङले संसदीय यात्रा शुरु गरेका छन् । एमालेको चुनावी विरासत जोगाउँदै पहिलो पटकको प्रतिस्पर्धामै सफलता पाएका नेम्वाङले प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्कालाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । इलामको उपनिर्वाचनसँग उनको व्यक्तिगत सफलता मात्र जोडिएको छैन, चुनावी नतिजाले राजनीतिक सन्देश र विशेषता समेत ग्रहण गरेको छ । दोस्रो स्थानमा रहँदै कंग्रेसले व्यहोरेको हार, गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको जमानत जफत तथा पहिचानवादी पक्षका स्वतन्त्र उम्मेद्वारले पाएको मत यतिवेला चर्चाको बिषय भएका छन् ।


संविधानसभाका अध्यक्ष एवम् एमालेका तत्कालिन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुुहाङले फराकिलो मत अन्तरसहित जित हात पारेका हुन् । २०५६ यताको चुनाव निरन्तर जितेका सुवासचन्द्रको विरासतलाई कायमै राखेर उनी संघीय संसदमा पुगेका हुन् । सुहाङले कंग्रेसका उम्मेदवार डम्वर खड्कालाई ५ हजार ८३० मतले पछाडी पारे । अघिल्लो निर्वाचनमा सुुवासचन्द्रसंग १ सय १४ को झिनो मतान्तरले पराजित उनै खड्का उपनिर्वाचन भने नराम्ररी पराजित भएका हुन् । बाबु सुवासचन्द्र जस्तै कानून व्यवसायी समेत भइसकेका सुवाङले चुनावी प्रतिस्पर्धामा माओवादी केन्द्र र नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको समर्थन पाएका थिए । आखिर सुवाङको प्रभावशाली जित कसरी सम्भव भयो त ? राष्ट्रियता र जनजीविकाका सवालमा एमालेले काम गर्न सक्ने प्रतिवद्धतालाई मतदाताले विश्वास गर्नुले पनि एमालेको जित सुनिश्चित भएको इलामका एमाले नेता बुद्धि खनाल बताउँछन् ।

सुवासचन्द्र नेम्वाङको गत २०८० भदौमा निधन भएपछि प्रतिनिधिसभामा रिक्त स्थानमा उपनिर्वाचन भएको हो । उनको निधनपछि एमालेले ३४ बर्षीय सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेर नयाँ पुस्तालाई मौका दिएको थियो । त्यही मौकाको सदुपयोग गर्दै उनले चुनाव जितेर चर्चा कमाएका छन् । सुहाङको चुनावी सफलतासहितको विश्लेषण गर्दै राजनीतिक अध्येता दुर्गा बरालले संगठन बलियो एवं सहानुभुतिका कारणले पनि एमालेले जितेको बताए । इलाममा रास्वपाको संगठन बलियो नहुनु, एवं विभिन्न प्रकरणमा रास्वपाका पदाधिकारी मुछिनुले पनि रास्वपाको पक्षमा मत कम आएको अध्येता बरालको भनाइ छ ।

अघिल्लो चुनावमा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन पाएका कंग्रेस खड्काले टिकटका लागि पार्टीभित्र विवादका बीच यो पटक भने एक्लै चुनाव लडेका थिए । २०७९ मंसिरकोे निर्वाचनमा २९ हजार ९०६ मत ल्याएका खड्काले उपनिर्वाचनमा भने २१ हजार ९४२ मतमै चित्त बुझाउनुप¥यो । यो हारले एमालेको विरासत भत्काउने कंग्रेसको प्रयास फेरि पनि असफल भएको छ । इलाममा जनसम्पर्क बढाउनुपर्ने सन्देश उपनिर्वाचनले दिएको कंग्रेस नेतृ सुशिला थिङ बताउँछिन् ।


बाबु सुवासचन्द्र जस्तै मृदभाषी र सरल स्वभावका सुहाङ एमालेको बलियो संगठन भएको क्षेत्रमा प्रतिस्पर्धामा थिए । उनलाई टक्कर दिन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारिता पृष्ठभूमिका मिलन लिम्वुलाई उम्मेदवार बनाएपछि चुनावी रौनक बढाएको थियो । अन्य दल जस्तै सो पार्टीका केन्द्रिय नेताहरु प्रचार प्रसारमा व्यस्त भएका थिए । इलामको उपनिर्वाचनमा रास्वपाले पाउने मतप्रति सर्वाधिक चासो थियो । तर अघिल्लो निर्वाचनबाट चौथो शक्तिका रुपमा उदाएको सो पार्टीका उम्मेदवार मिलन लिम्वुले ५ हजार ५० मत मात्र प्राप्त गर्दा जमानत जोगाउन सकेनन् । उपनिर्वाचन जितेर नयाँ उत्साह भर्ने प्रयासमा रहेको रास्वपालाई चुनावी नतिजाले झस्काएको छ । रास्वपाले पाएको मतको विभिन्न कोणबाट विश्लेषण भइरहेकाबीच रास्वपाले केन्द्रीय समितिको बैठकबाट समीक्षा गर्ने सो पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुुकुुल ढकालले बताए ।

इलामको उपनिर्वाचनको अर्को एउटा विशेषता पहिचानवादी पक्षबाट स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्र थेगिम लिम्बुुले पाएको मत पनि हो । कोशी प्रदेश नामाकरणको विरोधमा लामो समयदेखि आन्दोलन गर्दै आएका पहिचानवादी पक्षको नेतृत्व गर्दै पहिलो पटक चुनाव लडेका लिम्बुले ११ हजार ४५७ मतसहित तेस्रो स्थान प्राप्त गरे । उनको पराजयले कतिपयले पहिचानवादी राजनीतिकको हारको रुपमा अथ्र्याएका छन् । तर पहिलो पटकको प्रतिस्पर्धामा ११ हजार बढी मत ल्याएर आफ्नो जनाधार रहेको लिम्बुले पुष्टि गरेका छन् । लिम्बुुलाई जिताउन प्रचारप्रसारमा खटिएका डा. महेन्द्र लिम्बु लावतीले चुनाव हारेपनि आफूहरुको उत्साहित भएको बताए ।

इलामको उपनिर्वाचनमा रास्वपाको मात्र नभई एकीकृत समाजवादी, राप्रपा लगायत दलसहित १६ जनाको जमानत जफत हुन पुग्यो । एकीकृत समाजवादीका लागि यो नतिजा स्तव्धपूर्ण बनेको छ । पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्लामा उनका पार्टीका उम्मेद्वार जीतबहादुर राईले जम्मा ४ सय ८ मत पाए । जबकी खनाल उपनिर्वाचनका लागि इलाम २ मा चुनावी कमान्डर दिए । गणतन्त्र फालेर राजतन्त्र बहाली गर्ने र अहिलेको व्यवस्थाप्रति असन्तुष्टी बढ्दै गएको दावी गरिरहेको राप्रपाका लागि पनि यो चुनाव खल्लो सावित भयो । राप्रपाका उम्मेद्वार लक्ष्मी गुुरुङले ४ सय ४ मत पाएका थिए । 


प्रतिक्रिया