यमपञ्चकको दोस्रो दिन कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै

कार्तिक २६, २०८० | काठमाडौं
यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाईंदैछ । इमान्दार, स्वामीभक्त र भैरवको बाहनका रुपमा समेत परिचित कुकुरलाई मिष्ठान्न, खानेकुरा सहित फूलमाला र टीकाले पूजा गरिन्छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।
यसैबीच, आजै साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाईंदैछ । तिथि घटबढका कारण आज एकै दिन नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा दीपमालिका परेकाले बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा मनाउन लागिएको हो ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, कौसी, भर्याङ्ग लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । कूल परम्परा अनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ । यस वर्ष तेस्रो दिन भोलि गाई तिहार, चौथो दिन गोवर्द्धन पूजा र अन्तिम दिन भाइटीका गरी मनाइन्छ ।