नारायणगढ-मुग्लिन सडक स्तरोन्नतिको काम नसकिएपछि तीन साता समय थप

पुस २८, २०८० | चितवन

चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम समयमै नसकिएपछि करीब तीन साता समय थप गरिएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत तुइन खोलामा पुल बनाउन चट्टानी पहाड काट्ने काम नसकिएपछि माघ २० गतेसम्मका लागि समय थप गरिएको हो । 

सो क्षेत्रमा मध्याह्न १२ देखि ४ बजेसम्म दैनिक ४ घण्टाका लागि यातायात बन्द गरेर काम हुँदै आएको छ । तुईन खोलामा चट्टान फोर्ने काम आजसम्म सक्ने गरी कार्यतालिका बनाईए पनि नसकिएपछि माघ २० गतेसम्मलाई समय थपिएको नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । 

संक्रान्तिका दिन माघ १ गते भने यातायात बन्द नहुने आचार्यले जानकारी दिनुभयो । अरु दिन भने मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्मका लागि बाटोमा गाडी बन्द गरेर काम हुने उहाँले बताउनुभयो । 

बाटो बन्द गरेर अहिलेसम्म १५ मिटरको हाराहारीमा मात्रै पहाड काट्न सकिएको सूचना अधिकारी आचार्यले बताउनुभयो । उहाँका अनुसार अझै २० मिटर जति पहाड काट्न बाँकी नै छ ।


प्रतिक्रिया