पाल्पाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनमा ३ को मृत्यु, दुई घाइते

माघ ८, २०८० | काठमाडौं

पाल्पाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । माथागढी गाउँपालिका–५, हात्तीलुङ्ग नजिकै गिद्धे भीरमा टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । 

पाल्पाको रहवासबाट रुपन्देहीको खैरेनीतर्फ जाँदै गर्दा लु २ ख ४५०९ नम्बरको टिपर दुर्घटना हुँदा माथागढी–४ का दुई वर्षीया प्रशला सारु र ३५ वर्षीया भीमा सारु मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

दुर्घटनामा चालक माथागढी गाउँपालिका–७, रहवासका २५ वर्षीय सुक बहादुर बारघरे र माथागढी–४, झडेवाका २२ वर्षीया सिर्जना सारु घाइते भएको प्रहरीले जनाएको छ । खैरेनीबाट पाल्पातर्फ जाँदै गरेको बालुवा बोकेको टिपरलाई साइड दिने क्रममा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसैगरी रम्भा गाउँपालिका–१, मा मोटरसाइकल दुर्घटनामा २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गको पिपलडाँडाबाट रम्भा हुंगी असेर्दी जाने क्रममा ग १ ४ प ३७५ नम्बरको मोटरसाइकल सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भट्टले जानकारी दिनुभयो । 

पिपलडाँडा र हुगी असेर्दीको बीच भाग भोअरमा भएको दुर्घटनामा मोटरसाइकल सडकदेखि २ सय मिटर तल कालीगण्डकी नदी किनारमा पुगेको छ । 


प्रतिक्रिया