हुम्लामा तेस्रो पटक हिमपात, हवाई सेवा अवरुद्ध
माघ २१, २०८० | हुम्ला
हिमाली जिल्ला हुम्लामा पुनः हिमपात भएको छ । हिमपातले यातायातको एक मात्र विकल्प हवाई सेवा पनि अवरुद्ध भएको छ । यो यस वर्षको तेस्रो हिमपात हो ।
हुम्लामा यस वर्ष गत मंसिर १८ गते पहिलो र माघ १८ गते दोस्रो हिमपात भएको थियो । हिमपात भएसँगै हुम्लामा अत्यधिक चिसो बढेर तापक्रम माइनस ४ डिग्रीमा झरेको छ ।
आइतबार बिहानैबाट हिउँ पर्दा चिसोले सिमकोट बजारमा मानिसको चहलपहल घटेको छ । प्राय होटेल पसल बन्द छन् भने चिसोले जनजीवन प्रभावित भएको छ ।
हुम्लाका उत्तरी क्षेत्र नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका सबै क्षेत्रमा भारी हिमपात भएको छ । दक्षिणी क्षेत्रका सर्केगाड, चंखेली, अदानचुली र तांजाकोट गाउँपालिकाका लेकतिर हिमपात र बेँसीतिर वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता नरेन्द्र चन्दले बताउनुभयो ।
लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसान हिउँ पर्न थालेपछि हर्षित भएका छन् ।
हिउँदे वर्षा र हिमपातले पशुपालनलाई असर गरे पनि बालीनालीको उत्पादनमा सहयोग पुग्छ । बाक्लो हिउँका कारण लिमी र हिल्सा बाटो बन्द हुँदा जनजीवन कष्टकर बनेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।