व्यवसायी अरुण चौधरीलाई हाजिरी जमानीमा छाड्न आदेश गर्ने न्यायाधीशको मुगुमा काज सरुवा

माघ २९, २०८० | काठमाडौं

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा व्यवसायी अरुण चौधरी सहित तीन जनालाई हाजिरी जमानीमा छाड्न आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगुमा काज सरुवा गरिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई मुगु जिल्ला अदालतमा काज सरुवा गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिनुभयो । आचार्यको एकल इजलासले दिएको आदेश न्यायिक दृष्टिकोणबाट उपयुक्त नभएको टिकाटिप्पणी भइरहेका बेला आचार्यको सरुवा भएको हो ।

बाँसबारी छाला जुत्ता जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई आचार्यको इजलासले गत माघ २२ गते अनुसन्धान सकेर २ दिनभित्र रिहा गर्न आदेश दिएको थियो ।

यही विवादमा चौधरीसँगै चाँदबागका अध्यक्ष सञ्जय ठाकुर र तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा रिहा भएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले गत माघ १८ गते उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।  


प्रतिक्रिया