नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत उडान गर्दै
फाल्गुन ३, २०८० | हुम्ला
नेपाल वायु सेवा निगमले कर्णाली प्रदेशको राजधानीसुर्खेत जोड्न हुम्लाको सिमकोट विमानस्थलबाट पहिलो पटक उडान भर्ने भएको छ । कर्णाली प्रदेशका राजनीतिक दल एवं नागरिक अगुवाहरुको लामो प्रयासपछि निगमले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते सिमकोट–सुर्खेत उडान भर्ने भएको हो ।
सिमकोट–सुर्खेत मात्र नभएर सुर्खेतबाट विमानस्थल भएका कर्णालीका सबै जिल्लामा नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने तयारी भईरहेको निगमको सिमकोट शाखाका प्रमुख छिरिङ लामालेबताउनुभयो । निगमको विमानले आगामी सोमबार नेपालगञ्ज–सिमकोट र सिमकोट–सुर्खेतका लागि उडान भर्न लागेकोे उहाँले जानकारी दिनुभयो ।
यो उडानसँगै अहिलेसम्म यातायात सुविधा नभएको हुम्ला सदरमुकाम सिमकोट, प्रदेशको राजधानी सुर्खेतसँग जोडिने भएको हो ।
निगमले आफ्नो उडान नियमित गरेमा यातायात सुविधाबाट वञ्चित हुम्लाका बासिन्दालाई सुर्खेत पुग्न नेपालगञ्ज जानुपर्ने बाध्यता अन्त्य हुने स्थानीयको भनाई छ ।