ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने

वैशाख १, २०८१ | काठमाडौं

काठमाडौंको पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले आचारसंहिता निर्माण गरी ठमेल र दरबारमार्ग क्षेत्रलाई आज नयाँ वर्ष बैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो । 

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको १ महिनापछि संघीय सरकारको पहलमा ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालनमा ल्याउन लागिएको हो । गृहमन्त्री लामिछानेको उपस्थितिमा आज दिउँसो एक कार्यक्रम आयोजना गरी सो क्षेत्र चौबिसै घण्टा खुला राख्ने घोषणा हुनेछ । 

अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले नै ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गर्न लागिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता हरि प्रसाद शर्माले जानकारी दिनुभयो । 

सो क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोही अनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको उहाँले जानकारी दिनुभयो । 

ठमेलभित्र व्यवसायी मात्रै नभइ स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्ने गरी व्यवस्था मिलाइएको छ । ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला भएपछि अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने व्यवसायीको भनाई छ । 


प्रतिक्रिया