गण्डकी प्रदेशसभा बैठक अनिश्चीतकालकालागि स्थगीत

वैशाख ७, २०८१ | काठमाडौं

गण्डकी प्रदेशसभा बैठक अर्को सूचना नआउँदासम्मलाई स्थगित भएको छ ।

आज केहीबेर बसेको बैठक काँग्रेस र राप्रपाले बहिष्कार गरेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको हो । बैठकमा सभामुख कृष्ण धितालले प्रदेश प्रमुखको बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।

सभामुख धितालले प्रतिपक्षलाई बैठकमा आह्वानसमेत गर्नुभएको थियो । कांग्रेसले सरकारको वैधानिकताको विषय सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा अधिवेशन बोलाइएको भन्दै विरोध जनाएको छ । केन्द्रीय सत्ता समिकरण परिवर्तन भएपछि गण्डकीमा कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बहुमत प्राप्त गर्ने अवस्था नरहेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । प्रदेश प्रमुखडिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा (२) को व्यवस्था अनुसार खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्ति गर्नुभयो । सोही विषयमा असन्तुष्टि जनाउँदै कंग्रेसका पाण्डेले प्रदेश प्रमुखलाई विपक्षी बनाइ गत चैत २६ मा सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सो रिट वैशाख १० लाई पेसी तोकिएको छ । अदालतमा विचाराधीन रहेको अवस्थामा संसद खुलाउनु गलत रहेको कांग्रेसको भनाइ छ । सर्वोच्चको पेसी अगावै विश्वासको मत लिने तयारी प्रदेश सरकारको छ । 


प्रतिक्रिया