कोशी प्रदेशसभामा विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित

वैशाख ७, २०८१

कोशी प्रदेशसभामा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले संकल्प प्रस्तावको पक्षमा ५२ सांसद र मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराउनुभयो । कांग्रेस सांसदहरू भने मत विभाजनमा सहभागी भएनन् । सभामुखले संकल्प प्रस्ताव पारितपछि प्रदेशसभाको विशेष अधिवेशनको औचित्य समाप्त भएको भन्दै सभामुखले अधिवेशन अन्त्य भएको घोषणा गर्नुभयो ।

त्यसअघि संकल्प प्रस्तावका पक्षमा बोल्दै माओवादीको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत पनि लिन्नँ, राजीनामा पनि दिन्नँ’भन्ने मुख्यमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार भएको र यसले सरकारको नियत सफा नदेखिएको बताउनुभयो । संसद् विघटनको कुरा कल्पनाबाहिरको कुरा भएको जनाउंदै उहांले अब मुख्यमन्त्रीले ३० दिनभित्र मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो । उहांले संविधानको १६८ को उपधारा ५ बमोजिम सरकार चीरस्थायी हुन्छ भन्ने सोच गलत रहेको समेत उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री केदार कार्कीले संसद्मा जवाफ दिँदै विगतमा आफूलाई मुख्यमन्त्री बनाउने बेलामा बहुमत नखोजिएको र अहिले बहुमत खोजिनु दुःखद रहेको बताउनुभयो । मध्यावधिमा जानबाट रोक्न राजनीतिक स्थायित्व कायम गर्नलाई त्यतिबेला सरकार बनेको उहांको भनाई थियो । 


प्रतिक्रिया