टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने एक अध्ययनको निष्कर्श

वैशाख ८, २०८१ | काठमाडौं

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको व्यापक सुधार गर्नुपर्ने अध्ययनले देखाएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले गरेको अध्ययनले सो तथ्य देखाएको हो ।

विश्वविद्यालयले गरेको अनुसन्धानमा, प्राविधिक शिक्षालय र निर्माण क्षेत्रका रोजगारदाताबीच समन्वयको अभाव, सिपयुक्त तालिम र प्राविधिक शिक्षामा युवाको पहुँच तथा रोजगारीसँगको कमजोर सम्बन्ध, र स्थानीय तहले औपचारिक टीभेट क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको पाइएको छ ।

पोखरामा आज एक कार्यक्रमकाबीच सो अनुसन्धान प्रस्तुत गरिएको हो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्रा.महेशनाथ पराजुलीले टीभेट शब्दको मर्म अनुसार सरकारबाट काम हुन नसकेको बताउनुभयो । सामाजिक, आर्थिक रुपान्तरणको प्रमुख माध्यम टीभेट भएपनि यो क्षेत्रमा सरकारको प्राथमिकता कम परेको उहाँको भनाई छ ।

कार्यक्रममा गण्डकी प्रदेशको लोक सेवा आयोगकी सदस्य कल्पना लम्सालले भने मध्यम वर्गका सिपयुक्त जनशक्ति उत्पादनमा गण्डकी प्रदेशले ध्यान दिएको बताउनुभयो । यसका लागि गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले अनुगनम र मुल्याङ्नकनलाई प्राथमिकतामा राखेको उहाँको भनाई छ ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.नवराज देवकोटाले व्यवस्थापन शिक्षक अभावमा टीभेट क्षेत्र कमजोर रहेको बताउनुभयो । श्रम बजारको माग अनुरुपको तालिम हुन नसकेकै कारण टीभेट क्षेत्र कमजोर रहेको उहाँको भनाई छ ।

कार्यक्रम काठमाडौं विश्वविद्यालय अन्तर्गतको लेलम (लिंकिङ, एजुकेशन विथ लेवर मार्केट) परियोजनाबाट गरिएका अनुसन्धानहरुको छलफलमा केन्द्रीत थियो । छलफलमा गण्डकी प्रदेशकी सांसद कल्पना तिवारी, गण्डकी विश्वविद्यालयकी प्रा.दुर्गा देवकोटा लगायतको पनि सहभागिता थियो । 


प्रतिक्रिया