कारबाही प्रक्रिया अघि बढ्योः शिक्षा मन्त्रालय

वैशाख ९, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदन अनुसार कारबाही सिफारिस भई हाल विभिन्न विश्वविद्यालय र अन्य निकायमा कार्यरत व्यक्तिलाई कारबाही प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयलाई प्रतिवेदनले कारबाही सिफारिस गरेका व्यक्तिहरू कार्यरत रहे कारबाही अघि बढाउन पत्राचार गरेको जनाएको छ ।

सो प्रतिवेदनमा समावेश भएका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन सबै विश्वविद्यालयलाई जानकारी गराइदिन विश्वविद्यालय अनुदान आयोगलाई समेत मन्त्रालयले छुट्टै पत्र पठाएको छ । कारबाही सिफारिस भएका व्यक्तिमाथी आवश्यक छानबिन गर्न मन्त्रालयले यसअघि नै प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइसकेको छ । २०७४ सालमा विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन ६ वर्षपछि गत चैत्र २८ गते सार्वजनिक गरेको थियो । 


प्रतिक्रिया