दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर आज काठमाडौं आउँदै
वैशाख ११, २०८१ | काठमाडौं
नेपालको दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज काठमाडौं आउँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा थानी काठमाडौं आउन लाग्नु भएको हो ।
राष्ट्रपति पौडेलले कतारका राजा थानीलाई अपराह्न साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु हुनेछ । कतारका अमिरलाई विमानस्थलको अतिविशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिदैछ ।
फिलिपिन्सबाट एसिया भ्रमण थालेका कतारी राजा बंगलादेशबाट काठमाडौं आउन लाग्नु भएको हो । कतारका राजा थानीले आज बेलुका नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुहुनेछ ।
सो भेटवार्तापछि राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा सोल्टी होटलमा राजकीय रात्रिभोजको आयोजना गर्नुभएको छ ।
भ्रमणका क्रममा नेपाल र कतारबीच भोलि विभिन्न विषयमा दुईपक्षीय समझदारीको तयारी भएको छ । कतारी राजा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता लगत्तै विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पहल गरिदिन पनि आग्रह गर्ने प्रधानमन्त्री दाहालले बताईसक्नु भएको छ ।
मन्त्रालयका प्रवक्ता अमृतकुमार राईका अनुसार उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारी हुनेछ ।
साथै, थप अन्य तीन विषयमा पनि समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र कतारबीच हुने भनिएको श्रम सम्झौता भने यस पटक नहुने भएको छ ।