गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्धमा कंग्रेसद्धारा रिट दायर

वैशाख २५, २०८१

नेपाली कांग्रेसले गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभामा विश्वासको मत लिनुभएको थियो । विश्वासको मत लिँदा प्रदेश सभाको बुहमतको गणना अवैधानिक रुपमा गणना गरेर विश्वासको मत पाएको घोषणा भएपछि कांग्रेस सर्वोच्च अदालतमा पुगेको हो । 

कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा अधिकारीले लिएको मत अवैधानिक रहेकाले अब ठूलो दलको हिसाबले मुख्यमन्त्रीमा नियुक्तिका लागि पाण्डेले परमादेश जारी गर्न माग गर्नुभएको छ । ६० सदस्यीय प्रदेश सभामा ३० मत अधिकारीले पाउनुभएको थियो । बुहमत पुग्नका लागि ३१ मत हुनुपर्ने कांग्रेसको तर्क छ । 

तर, प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेशअनुसार भन्दै ३० मतले नै बहुमत पुग्ने गणना गर्नुभएको थियो । बराबरी भएको अवस्थामा सभामुख धितालले मत दिन पाउने अधिकार समेतको ख्याल गर्न भन्दै अधिकारीले बहुमत प्राप्त गरेको घोषणा गरेका थिए । सभामुखले यसरी गरेको घोषणा कपटपूर्ण भएको पाण्डेको रिटमा दाबी गरिएको छ ।


प्रतिक्रिया