८ महिनापछि ईलाका प्रहरी कार्यालय लिमि पुनः स्थापना
जेष्ठ १९, २०८१ | हुम्ला
हुम्लामा चिसो बढेपछि गत कार्तिकमा बेँसी झरेको ईलाका प्रहरी कार्यालय लिमि पुनः स्थापना भएको छ ।
चिनियाँ सिमावर्ती क्षेत्र लिमीमा स्थापना गरिएको ईलाका प्रहरी कार्यालय लिमि गत कार्तिकमा सदरमुकाम सिमकोटमा स्थानान्तरण गरिएको थियो ।
चीनको स्वशासीत क्षेत्र तिब्बतसँग जोडिएको नाम्खा वडा नं ६ लिमीको सुनखानीमा रहेको ईलाका प्रहरी कार्यालय बुधबारबाट पुन संचालनमा आएको हुम्ला प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभयो ।
प्रतिकुल मौसमका कारण गत वर्ष कार्तिक १५ गते ईलाका प्रहरी कार्यालय लिमीमा रहेको जनशक्ति जिल्ला प्रहरी कार्यालय हुम्लामा मर्ज भएपश्चात जनशक्ति पुगेसँगै बुधबारबाट पुनःस्थापना भएको डिएसपी खनालले बताउनुभयो ।