धनकुटामा नौ स्रष्टा पुरस्कृत तथा सम्मानित

असार ३०, २०८१ | धनकुटा
गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले प्रदान गर्ने विभिन्न पुरस्कारबाट नौ जना स्रष्टा पुरस्कृत भएका छन् ।
आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा सो पुरस्कार वितरण गरिएको हो ।
धनकुटा नगरपालिका ५ देवानटारस्थित पुस्तकालयले भाषा, साहित्य, कला संस्कृति तथा पत्रकारिताको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कृत तथा सम्मानित गरेको पुस्तकालयका अध्यक्ष घनश्याम बरालले जानकारी दिनुभयो ।
यसक्रममा दुल्लव लामिछाने स्मृति छन्द पुरस्कार झापाका कवि विष्णु न्यौपाने, गर्गश्री सम्मानबाट झापाका कमलाकान्त आत्रेय, धनञ्जय घिमिरे स्मृति सम्मान चौबिसे गाउँपालिकास्थित कुरुलेतेनुपाका मेदिनीप्रसाद बराललाई प्रदान गरिएको छ ।
पुस्तकालयले मानार्थ सदस्य सम्मानबाट पद्मप्रसाद काफ्ले, स्वर्णप्रभा पत्रकारिता पुरस्कारबाट धनकुटाका पत्रकार सन्तबीर लामा, लक्ष्मीकान्त देवकन्या रुक्मिणी पुरस्कार मोरङका शालिग्राम दाहाल, धनमाया लामिछाने युवा प्रतिभा पुरस्कारबाट पाख्रीबासकी तुलसा स्वदेशी राई, डिल्लीमाया बराल स्मृति एकल महिला समाजसेवा पुरस्कार धनकुटाकी जयादेवी राई र सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राईलाई पनि सम्मान गरिएको जनाईएको छ ।
सम्मानित तथा पुरस्कृतहरुलाई संस्थाका संस्थापक टिकाप्रसाद लामिछाने, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, अध्यक्ष घनश्याम बराल लगायतले दोसल्ला, सम्मानपत्र तथा नगद प्रदान गरेका थिए । सो अवसरमा रामायण तथा सृजना वाचन कार्यक्रम समेत आयोजना गरिएको थियो । जसमा १५ जना कविहरुले रचना वाचन गरेको पुस्तकालयका महासचिव मुकुन्द प्रयासले बताउनुभयो ।