रुसी सेनामा भर्ती भएका नेपालीको उद्धार गर्न पहल जारी छः परराष्ट्रमन्त्री राणा
श्रावण ९, २०८१ | काठमाडौं
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री राणाले रुससँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताउनु भएको हो । मन्त्री राणाका अनुसार रुस–युक्रेन युद्व भएदेखि हालसम्म रुसी सेनामा भर्ती भई युद्धमा ज्यान गुमाउनेको नेपालीको संख्या ३४ पुगेको छ ।
मन्त्री राणाले मस्कोस्थित नेपाली दूतावासको समन्वयमा १ सय ५० जना नेपाल फर्किएको जानकारी दिनुभयो । हालसम्म उद्धारका लागि ३ सय २३ जनाको आवेदन परेको छ । सम्पर्कमै नरहेका भनी खोजी र फिर्ताका लागि निवेदन दिनेको संख्या १ सय १६ छ ।
मन्त्री राणाले प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको उद्धारका लागि पहल भइरहेको बताउनुभयो । गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको पनि मृत्यु भएको थियो भने जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो ।