मकवानपुरमा १ अर्ब ६९ लाखको क्षति

कार्तिक ६, २०८१

असोजको दोस्रो साता आएको बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख ३५ हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार प्रारम्भिक तथ्यांकका आधारमा २३ हजार रोपनी जग्गाको बालीनाली नष्ट भएको पाइएको छ । 

गत असोज १० देखि १३ गतेसम्मको बाढीपहिरोले मकवानपुरका १० पालिकामध्ये सबैभन्दा बढी मानवीय र भौतिक एवं पूर्वाधारको क्षति इन्द्रसरोवर गाउँपालिकामा भएको छ । बाढीपहिरोमा परेर मकवानपुरमा १० जनाको मृत्यु भएको थियो । मकवानपुरमा बाढीपहिरोबाट ४ हजार १ सय ३६ चौपाया मरेका थिए । बाढीपहिरोले मकवानपुरमा ५ वटा पालिकाका १६ वटा झोलुङ्गे पुल बगाएको छ । खानेपानी, विद्युत् र अन्य पूर्वाधार गरी ५८ वटालाई क्षति पु¥याएको तथ्यांकमा उल्लेख छ । यसैबीच, सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । 

सरकारले प्रतिमृतक दुई लाख रुपैयाँ प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन् भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया