हरिबोधनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको घुइँचो

कार्तिक २७, २०८१ | पाल्पा

हरिबोधिनी एकादशीका अवसरमा रामपुर नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाको निर्णय अनुसार मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

हरिबोधिनी एकादशीलाई रामपुर नगरपालिकाको कालीगण्डकी क्षेत्रमा धार्मिक उत्सवको रुपमा मनाउने प्रचलन छ । नगरपालिकाको केलादी घाट, रामघाट, कोप्चेघाट, तातोपानी, बर्दले, खोरियाघाट, स्याउली, आँधीघाट लगायत कालीगण्डकी नदी किनारका दर्जन बढी स्थानमा मेला लाग्ने र स्नानका लागि भक्तजन पुग्ने भएकाले सार्वजनिक बिदा दिएको नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । 

रामपुर नगरपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी र शैक्षिक संस्था लगायत कार्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जारी गरेको सूचनामा उल्लेख छ । 

कालीगण्डकी नदी किनारका विभिन्न स्थानमा हरिबोधिनी एकादशीको अवसरमा मेला लाग्ने गर्छ । नदी किनारमा बजार लाग्ने, मेला भर्न जानेको घुइँचो लाग्छ । नगरपालिकाले अघिल्ला वर्षमा पनि हरिबोधनी एकादशीका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ ।

कालीगण्डकी नदीमा स्नान गर्नेको घुइँचो

हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङजाको सिमाना कालीगण्डकी नदी किनारका घाटहरुमा मंगलबार बिहानैदेखि स्नान गर्ने र मेला भर्नेको घुइँचो लागेको छ । बिहानैदेखि भक्तजनहरु कालीगण्डकी नदी किनारमा स्नान गर्ने, पुजाआजा गर्ने, तोरण तार्ने गर्छन् । 

ठूलो एकादशीका अवसरमा कालीगण्डकी नदी किनारमा मेला समेत लागेको छ । कालीगण्डकी नदीको तटमा स्नान गर्न, तोरण तार्न भक्तजनहरु पाल्पा बाहेक रुपन्देही, नवलपरासी, कपिलवस्तु, स्याङ्जा, गुल्मी, अर्घाखाँची लगायत जिल्लाबाट आउने गर्छन् । 

पाल्पाको ररु क्षेत्र रिडी, रानीमहलस्थित रानीघाट, सिद्धार्थ राजमार्गको राम्दी, गेझाको आँधीघाट, रामपुर नगरपालिका अन्तर्गतका केलादी, खोरियाघाट, रम्भाको हुंँगीघाट, उत्तरबाहिनी लगायत स्थानमा श्रद्धालुको बिहानैदेखि घुइँचो लागेको छ । महिला तथा पुरुषहरु व्रत गर्ने र नदीमा नुहायो भने मनले चिताएको पुग्ने विश्वास छ । 


प्रतिक्रिया