नेपालमा राजसंस्था पुर्नस्थापना असम्भवः अध्यक्ष दाहाल

चैत्र ८, २०८१ | काठमाडौं

प्रमुख प्रतिपक्षी दल माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा राजसंस्था पुर्नस्थापना असम्भव रहेको बताउनुभएको छ ।

केही दिनका लागि स्थगित भएर पुनः सुरु भएको जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत पर्सामा आज आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले रजसंस्था फर्कने सम्भावना नरहेको बताउनुभएको हो । सरकारले गरेको काम प्रभावकारी नभएपछि नागरिकमा असन्तुष्टि चुलिएको समयमा राजतन्त्र पक्षधरहरु सक्रिय भएको उहाँको भनाइ छ ।

संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउने भन्दै माओवादी केन्द्रले गत फागुन २४ गते रौतहटबाट आफ्नो अभियान स्थगित गरेको थियो । अभियान स्थगित भएसँगै राजावादी शक्तिको आन्दोलनका कारण माओवादी हच्किएको भन्दै टिप्पणी हुँदै आएकोमा दाहालले त्यसको प्रतिवाद गर्नुभएको छ ।

यसैबीच माओवादी अध्यक्ष दाहालले २०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा आफू नरहेको बताउनुभएको छ । आगामी निर्वाचनको अवधिसम्म जनताको साथमा रहने प्रतिबद्धता जनाउँदै दाहालले सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा फरक व्यवहार नदेखाउने आफूहरुको नीति रहेको उल्लेख गर्नुभयो ।  


प्रतिक्रिया