प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ प्रदान

चैत्र ८, २०८१ | काठमाडौं
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो ।
टेलिमेडिसिनतर्फ सिन्धुपाल्चोकका डा छिरिङ लामा , विज्ञान प्रविधि नवप्रवर्तनतर्फ मोरङका डा विराजसिंह थापा तथा कीर्तिमानी पर्वतारोही गोरखाकी पूर्णिमा श्रेष्ठलाई प्रदान गरिएको छ । विज्ञान प्रविधितर्फ काठमाण्डौंका डा. आभास मास्के र गोरखाका हरिराम श्रेष्ठ पुरस्कृत भएका छन् ।
यस्तै चिकित्सा क्षेत्रतर्फ महोत्तरीका ओममूर्ति अनिल, खेलकुदतर्फ लमजुङकी सावित्रा भण्डारी साम्बा , सम्पदा संरक्षणतर्फ भक्तपुरका रवीन्द्र पुरी , समाजसेवातर्फ काठमाण्डौंका दिलशोभा श्रेष्ठ र गोरखाका रामजी अधिकारी पुरस्कृत भएका छन् ।
नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको थियो ।