वीरगन्ज घटनाः ५ बुँदे सहमति, हिन्दू पक्षियले दिए ३ दिने अल्टिमेटम, कफ्र्यु जारी

चैत्र ३१, २०८१

वीरगन्जमा जारी तनाव मत्थर गर्न जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वदलिय सर्वपक्षिय बैठकले पाँच बुँदे निर्णय गरेको छ । पाँच बुँदे निर्णयमा घटनामा संलग्न दोषीहरु मथि विस्तृत छानबिन अनुसन्धान गरी कानूनी कारवाही गर्ने, अन्तरधार्मिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानूनी कारवाहीको प्रकृयामा सहयोग पु¥याउने निर्णय समेत भएको छ ।

त्यसैगरी, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने र घटनामा भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने र गरेमा कारवाहीको दायरामा ल्याउने निर्णय समेत गरिएको छ ।

पर्सामा संचालित सबै धार्मिक संस्था तथा ती संस्थाबाट संचालित विद्यालय मदरसा इत्यादिको सुक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारवाहीको दायरामा ल्याउने निर्णय समेत गरिएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल प्रहरीका पर्सा प्रमुख एसपि गौतम मिश्र, सशस्त्र प्रहरीका पर्सा प्रमुख एसपि राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान बिभाग पर्साका प्रहरी उपरीक्षक दिलिप सिंह, नेपाली सेनाका वीरगन्जस्थित श्री श्री जंग गणका प्रमुख कर्नेल निराजन कटुवाल लगायत सहभागी थिए ।

अन्तिम बैठकबाट बाहिरिएपछि हिन्दू पक्षिय सहभागीहरुले आफूहरुले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई घटनामा संलग्नहरुलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन तीन दिनको अल्टीमेटम दिएको सन्चारकर्र्मीहरु समक्ष बताएका छन् । तीन दिन भित्र आफूहरुको माग पुरा नभए संघर्षको कार्यक्रम सार्वजनिक गर्ने पनि उनीहरुले बताएका छन् ।

यस अघि आइतबार बिहान सम्पन्न सर्वदलिय बैठकले पनि तथा बिभिन्न दलका जिल्ला प्रमुख एवम् प्रतिनिधिहरु सम्मिलित बैठकले ३ बुँदे प्रतिबद्धता जाहेर गर्दै सद्भाव कायम गर्न अपिल गरेको थियो । 


प्रतिक्रिया