परराष्ट्रमन्त्री राणा र चीनका विदेशमन्त्रीबीच हङकङमा भेटवार्ता

जेष्ठ १६, २०८२ | काठमाडौं
परराष्ट्रमन्त्री आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री यी को निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको प्रशासनिक क्षेत्र हङकङमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल–चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका विषयहरूमा छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ । भेटका क्रममा मन्त्री राणाले आगामी दिनमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवं प्रत्यक्ष वैदेशिक लगानीलगायत विविध क्षेत्रहरूमा नेपालमा चीनको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको बताउनुभयो ।