वीरगञ्जको मुख्य शहरी क्षेत्रमा निषेधाज्ञा जारी

वैशाख १, २०८२ | पर्सा

पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरको मुख्य शहरी क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । शनिबार बेलुका साढे ७ बजेदेखि लगाइएको कफ्र्यु आइतबार मध्यराति १२ बजे अन्त्य भए लगत्तै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गएराति सूचना जारी गर्दै वीरगञ्जको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर गण्डक चोक र दक्षिण शंकराचार्य गेट भित्रको क्षेत्रमा निषेधाज्ञा जारी गर्नु भएको हो । 

सोही क्षेत्रको दायरामा यसअघि कफ्र्यु लगाइएको थियो । परिस्थिति सुधार हु“दै गएको र सम्बद्ध पक्षसँग हिजो भएको सर्वपक्षीय बैठकमा भएको निर्णय समेतको आधारमा कफ्र्यु हटाइएको सूचनामा उल्लेख छ ।

साथै परिस्थिति पूर्ण रुपमा सामान्य भई नसकेको अवस्थालाई ध्यानमा राख्दै सोमबारदेखि अर्को आदेश जारी नभएसम्मका लागि कुनै किसिमको भेला, सभा, जुलुश तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको जारी गरिएको सूचनामा भनिएको छ । 

वीरगञ्जमा शनिबार भएको तनाव मत्थर गर्न आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गरेपछि वीरगञ्जको अवस्था सुधारोन्मुख छ । 

आइतबार मध्यरातिदेखि कफ्र्यु हटेपछि सर्वसाधारणलाई आवागमनमा सहजता भएको छ । वीरगञ्ज बजार सोमबार बिहानदेखि खुलेको छ । हनुमान जयन्तीको शोभायात्राको क्रममा शनिबार वीरगञ्जको छपकैंया क्षेत्रमा झडप भएको थियो । झडपमा प्रहरी उपरीक्षक गौतम मिश्र सहित १२, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित १६ र सर्वसाधारण १३ गरी ४१ जना घाइते भएका थिए । 


प्रतिक्रिया