काठमाण्डौं केन्द्रीत शिक्षकको आन्दोलन सशक्त बनाउने निर्णय

वैशाख १, २०८२

विद्यालयको पठनपाठन ठप्प पारेर काठमाण्डौं केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । विद्यालयका सबै क्रियाकलाप बन्द गर्ने र कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागि नभइकन आन्दोलनमा सरिक हुने राष्ट्रिय समितिको बैठकले निर्णय गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरुको आन्दोलनलाई कम नआँक्न आग्रह गर्नुभयो ।

माग पुरा गराउन दबाब दिदै आएका शिक्षक तथा विद्यालय कर्मचारीले नयाँ वर्षको पहिलो दिन आजपनि सडक प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित आन्दोलनरत उनीहरूले नयाँ वर्ष सडकमै मनाएका हुन् । जिल्ला जिल्लाबाट थप शिक्षक कर्मचारीलाई काठमाडौं ल्याउने क्रम जारी रहेको भन्दै सुवेदीले सरकारसँग आफ्ना न्यायिक माग पुरा गराउनुको विकल्प नभएको उल्लेख गर्नु भयो । 

विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरु गत चैत २० गतेदेखि काठमाडौंमा निरन्तर सडक आन्दोलन गर्दै आएका छन् । 


प्रतिक्रिया