धनकुटाको महालक्ष्मी नगरपालिकाद्वारा निजी विद्यालयका सवारी साधनमा रोक

वैशाख ८, २०८२
शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै धनकुटाको महालक्ष्मी नगरपालिकाले नगर भित्र निजी विद्यालयका सवारी साधनमा रोक लगाएको छ । नगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै रोक लगाएको जनाएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकालाई सुलभ तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउन अभिभावक र सरोकारवाला पक्षसंगको समन्वयमा उक्तसो निर्णय गरिएको नगर प्रमुख ध्रुवराज रायाले बताउनुभयो । ् । रायाको हस्ताक्षरित विज्ञप्ति मार्फत नगरभित्र निजी विद्यालय समेत बन्द गरिएको उल्लेख छ । यस्तै शैक्षिक सत्र २०८२ मा अन्य पालिका र नगरपालिकाबाट निजी विद्यालयका सवारी साधन प्रवेश गरेको गुनासो बढेपछि बन्देज गरिएको सूचनामा उल्लेख छ ।
महालक्ष्मी नगरपालिकाका सामुदायिक विद्यालयमा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन भइरहेको दावी गरिएको छ । नगरपालिका भित्र लेगुवामा मात्र निजी विद्यालय सञ्चालनमा छ । अन्य सम्पूर्ण निजी विद्यालय बन्द गरिएको प्रमुख रायाले बताउनुभयो । पालिका भित्रका निजी विद्यालय बन्द गरिएपनि अन्य पालिकाबाट निजीमा विद्यार्थी ओसारपसार गर्ने क्रम बढेपछि पालिकाले त्यसमा समेत बन्देज लगाएको जनाएको छ । दुई वर्षको अवधिमा महालक्ष्मी भित्रका तीन वटा विद्यालय बन्द गराइएको छ । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिनेमा ढुक्क गराउँदै निजीमा नपठाउन भनिएको छ ।
महालक्ष्मी नगरपालिका क्षेत्राधिकार भित्र कुनै पनि निजी विद्यालयका बस प्रवेश समेतमा बन्देज गरिएको सूचनामा उल्लेख छ ।