सानो पाइला सहकारी प्रकरणः रास्वपा सभापति लामिछानेसंग ५ करोड ७४ लाख बिगो माग

वैशाख १५, २०८२
वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको छ । पर्सा प्रहरीका प्रवक्ता डिएसपि किशोर लम्सालका अनुसार, जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रवार प्रतिवेदन बुझाएको हो । सानो पाइला सहकारीमा ठगी र सङ्गठित अपराध कसुरमा ४१ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको उहाँले बताउनुभयो । ३० जना व्यक्ति र ११ वटा संस्था÷कम्पनीविरुद्ध मुद्दा चलाउन राय दिइएको छ । प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैया बिगो माग दाबी गरेको पनि उहाँले बताउनुभयो ।
सम्पत्ति शुद्धिकरण कसुरको हकमा अझै राय दिन बाँकी नै रहेको उहाँले बताउनुभयो । पर्सा प्रहरीको रायमा, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, जिबि राई, कुमार रम्तेल लगायतका समेत प्रतिवादी छन् । लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३ सय ३३ रुपैयाँ माग दाबी गरिएको छ । जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९ सय ९९ रुपैयँ बिगो माग दाबी गरिएको छ ।
फरार रहेका जीवी राईसंग १० करोड ८१ लाख ५२ हजार ४ सय ६९ रुपैयाँ माग दाबी गरिएको छ भने कुमार रम्तेलसंग १५ करोड ५३ लाख ५३ हजार ३ सय ४६ रुपैया बिगो माग दाबी गरिएको छ । हेमन्त अधिकारीसंग २ करोड ५८ लाख ७० हजार ३ सय ३० रुपैयाँ, सागर केसीसंग ५ करोड ९३ लाख ४७ हजार ६ सय ७९ रुपैयाँ, सुमित श्रेष्ठसंग २८ करोड ३० लाख ३ हजार ५ सय ७० रुपैया बिगो माग दाबी गरिएको छ । त्यसैगरी, अनन्तबाबु राइसंग २ करोड ९६ लाख ५४ हजार ३ सय २ रुपैया बिगो माग दाबी गरिएको छ ।
सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैया र नेचर हर्बस इष्डष्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैया स्थानान्तरण भएको पाइएको छ । डिएसपि लम्सालका अनुसार, सानो पाइला सहकारीबाट जति रकम बिभिन्न व्यक्तिहरुले लगेका छन् त्यस भन्दा बढी सर्वलक्ष्मी बहुउद्देश्यिय सहकारी संस्था एक्लैले लगेको पाइएको छ । सानो पाइलाबाट सो सहकारीको खातामा १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३ सय ९५ रुपैया ट्रान्सफर भएको छ ।
वीरगन्ज–६ आदर्शनगरमा कार्यालय स्थापना गरी सन्चालन गरिएको सानो पाइला सहकारीले स्थानीय ५ हजार ८ सय ७३ बचतकर्ताको कूल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैया अपचलन गरेको प्रहरीको राय प्रतिवेदनमा उल्लेख छ । २०८० साउन २१ गते नाजनिन बेगम सहित ५२ बचतकर्ताले आफूहरुको ४ करोड ३४ लाख २४ हजार २३ रुपैया सानो पाइला सहकारीले अपचलन गरेको दाबी सहित जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख, जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाले जिल्ला प्रहरी कार्यालयबाट गत शुक्रबार राय प्रतिवेदन प्राप्त भएपनि आफूले प्रतिवेदन अझै अध्ययन नगरेको बताउनुभयो । जति सक्दो छिटो प्रहरीको प्रतिवेदन अध्ययन गरेर कारवाही अघि बढाउने उहाँले बताउनुभयो ।