चिडियाखानाको रेड पाण्डा चोरी गर्न खोजेको अभियोगमा २ जना पक्राउ

जेष्ठ २०, २०८२
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाभित्र प्रदर्शनीमा राखिएको दुर्लभ प्रजातीको रेड पाण्डा चोरी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरूङ र भारत विहार घर भएका २६ वर्षीय मोहमद तफिक रहेको प्रहरीले जनाएको छ ।
सदर चिडियाखानामा रहेको रेड पाण्डा गत वैशाख ३० गते राति चोरी गर्न खोजेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो । उनीहरूविरुद्ध चोरी उद्योग कसूरमा ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।