भारतबाट पाँच नेपालीको उद्दार

असार ३२, २०८२
कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको उद्धार गरिएको छ । गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका पाँच जना मजदुरको उद्धार गरी उनीहरूलाई परिवारसमक्ष जिम्मा लगाइएको हो । काम लगाउने ठेकेदारले कुटपिटसहित मानसिक तथा शारीरिक यातना दिने गरेको उनीहरुको भनाइ छ ।
सम्झौताअनुसारको पारिश्रमिक दिनुको सट्टा कार्यक्षेत्रमा डरधम्की देखाई श्रम शोषणमा परेका ६० वर्षीय सकलदेव सदा र २८ वर्षीय चन्दन खङ्ग र शैलेन्द्र सदासहित पाँच जनालाई सकुशल उद्धार गरिएको तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीका अध्यक्ष शिवदेव सदाले गुजरातस्थित जोहरापुराका स्थानीय अधिकारी र सप्तरी तिरहुत गाउँपालिकाका अध्यक्ष यादवको विशेष पहलमा पाँच नेपाली मजदुरलाई नेपाल ल्याउन सफल भएको बताउनुभयो ।