मेयर रामपुकार साह स्वतः निलम्बनमा

असार ३२, २०८२
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह स्वतः निलम्बनमा पर्नुभएको छ । घुस रकमसहित आज पक्राउ परेसँगै साह स्वतः निलम्बनमा परेका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचारजन्य कसुरमा पक्राउ परे वा मुद्दा दर्ता भएमा सार्वजनिक पदमा भएका व्यक्ति निलम्बनमा पर्छन् ।
मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग,बर्दिबासको टोलीले आज कार्यालयबाटै १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको एक उपभोक्ता समितिसँग साहले २० प्रतिशत कमिसन माग गरेको आरोप छ । तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन नमानेको बताइएको छ ।