नासोलाई ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियन (आईएयू) को राष्ट्रिय सदस्यको रूपमा मान्यता प्राप्त
कार्तिक २३, २०८२
काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) लाई ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियन (आईएयू) को राष्ट्रिय सदस्यको रूपमा मान्यता प्राप्त भएको छ । लामो समयको अथक प्रयास पश्चात् नेपाल खगोल विज्ञानको सर्वोच्च संस्था आईएयूको सदस्य राष्ट्र भएको हो । आईएयूमा नेपालकोतर्फबाट नासोले प्रतिनिधित्व गर्ने भएको छ । नासोले एक विज्ञप्ती जारी गर्दै नेपाल सो संस्थाको सदस्य भएकोमा खुशी व्यक्त गर्दै यो एक ऐतिहासिक उपलब्धि भएको बताएको छ । विज्ञप्तीमा भनिएको छ, “नेपालको प्रतिनिधित्व गर्ने संस्थाको रूपमा नासोलाई आईएयूले राष्ट्रिय सदस्यका रूपमा मान्यता दिएसँगै सन् २००७ देखिको नेपालमा सञ्चालित कार्यक्रमहरूको औचित्य पुष्टि गर्न सफल भएको छ ।”
नासोलाई आईएयूको राष्ट्रिय सदस्यको मान्यता प्राप्त भएको जानकारी आईएयूका आगामीअध्यक्ष एवं सन् २०११ को भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्रो.ब्रायन पी. श्मीड्टले इमेलमार्फत दिनुभएको नासोका अध्यक्ष सुरेश भट्टराईले उल्लेख गर्नुभयो । “आईएयूसँग गरिएका संवाद र पत्राचारका आधारमा कार्यकारी समितिले नासोलाई नेपालका लागि राष्ट्रिय सदस्यका रूपमा चयन गरेको छ, जसले नेपालको सम्पूर्ण खगोल समुदायको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको” इमेलमा उहाँको भनाइलाई उल्लेख गर्दै नासोले जनाएको छ ।
गत वर्ष दक्षिण अफ्रिकाको केप टाउन शहरमा सम्पन्न आईएयूको ३२ औं महासभामा नेपालले आधिकारिक रूपमा ‘पर्यवेक्षक भूमिका’ प्राप्त गरेको थियो । उक्त महासभामा नासोको तर्फबाट परियोजना संयोजक मनिषा द्वाको सहभागिता तथा प्रस्तुति रहेको थियो ।
यो निर्णयले नेपाललाई अन्तर्राष्ट्रिय खगोल विज्ञान समुदायमा थप सशक्त रूपमा सहभागी हुन, विश्वव्यापी वैज्ञानिक सहकार्यमा योगदान दिन र खगोल तथा अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न मार्ग प्रशस्त गरेको नासोका अध्यक्ष भट्टराईले विश्वास व्यक्त गर्नुभयो । नेपाली वैज्ञानिक समुदायका लागि यो गर्वको विषय हो । खगोलसम्बन्धी नेपालको आवाजलाई विश्व खगोल समुदायमा सशक्त रूपमा प्रस्तुत गर्न नासो प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
नासोले सन् २००७ देखि नेपालमा खगोलशास्त्र शिक्षण, अनुसन्धान र जनचेतनाका क्षेत्रमा काम गर्दै आएको छ । आईएयूबाट प्राप्त पर्यवेक्षक भूमिकाले नेपाललाई अन्तर्राष्ट्रिय सहकार्य, वैज्ञानिक ज्ञान आदानप्रदान र अन्तरिक्ष विज्ञानमा क्षमता वृद्धि गर्ने अवसर प्रदान गरेको नासोले जनाएको छ । साथै, नेपाल तथा विदेशमा कार्यरत इन्टरनेसनल एष्ट्रोनोमिकल युनियनको व्यक्तिगत सदस्यता लिन योग्य नेपाली नागरिकलाई उक्त सदस्यताका लागि आफ्नो आवेदन दर्ता गराउन पनि नासोले अनुरोध गरेको छ ।









