मतपत्र छपाइको तयारी पूरा

रेडियो कान्तिपुर संवाददाता

पुस ७, २०८२ | काठमाडौं ।

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि चाहिने आवश्यक मतपत्र छपाइको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ  । आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गर्न लागेको हो । केन्द्रले चार वटा अत्याधुनिक छापाखानासँगै २ सय ५० जनशक्ति मतपत्र छपाइकालागि तयारी अवस्थामा राखेको जनाएको छ । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले आयोगबाट अनुमति आउनासाथ छपाइ सुरु गरिने बताउनुभयो । पहिलो चरणमा समानुपातिकतर्फको मतपत्र छपाइ गरिने छ । समानुपातिकका लागि करिब दुई करोड थान मतपत्र छापिने आयोगको भनाइ छ । 

समानुपातिक मतपत्र छापिएसँगै प्रत्यक्ष तर्फको मत पत्र छापिने छ । केन्द्रका प्रबन्ध सञ्चालक पौडेलका अनुसार निर्वाचनको मतपत्रसहित मतदाता परिचयपत्र, सूचनामूलक पोस्टरलगायतका आवश्यक सामग्री छपाइ पनि सुरु गरिदैछ । निर्वाचन प्रयोजनको छपाइका लागि करिब २५ करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । मतपत्र छपाइ गर्नुपरे पनि विद्यालय तहको पाठ्यपुस्तक छपाइको काम नरोकिने पौडेलले जानकारी दिनुभयो । पुस्तक छपाइ पनि मतपत्रसँगै हुने भएकाले समयमै पाठ्यपुस्तक बजार पुर्याउने गरि काम भइरहेको प्रबन्ध सञ्चालक पौडेलले बताउनुभयो । 


प्रतिक्रिया