पार्टीको छविमा नकारात्मक असर पर्ने गतिविधि नगर्न रास्वपाको अपिल
माघ ७, २०८२ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सामाजिक सञ्जाल, सार्वजनिक मञ्च, सञ्चारमाध्यम तथा अन्य माध्यमबाट पार्टीको छविमा नकारात्मक असर पर्ने गतिविधि नगर्न नेता कार्यकर्तालाई अपिल गरेको छ ।
सो पार्टीको अनुशासन आयोगले निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता पालना गर्न समेत पार्टी पंक्तिलाई भनेको छ ।
त्यस्तै, उम्मेदवार छनौट, प्रचार प्रसार तथा संगठन विस्तारका क्रममा गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा, चरित्रहत्या तथा आन्तरिक अनुशासन भंग हुने क्रियाकलापबाट पूर्ण रुपमा टाढा रहन आग्रह गरिएको आयोगले जनाएको छ ।
पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका आधिकारिक संयन्त्रबाट जारी निर्देशन, निर्णय तथा सूचनाको पालना गर्दै अनुशासित र जिम्मेवार भूमिका निर्वाह गर्न रास्वपाले आग्रह गरेको छ ।









