एन्फाको कार्यसमिति बैठक बस्दै

जेष्ठ १९, २०७७ | काठमाडौं

पछिल्लो समय संघभित्र मौलाउँदै गएको अनुशासन विपरीतका कार्य र त्यसबारे निर्णय गर्न अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज बस्दैछ । 

भिडियो कन्फरेन्स मार्फत हुने बैठक बिहान ११ बजेपछि सुरु हुने अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो । बैठकमा छलफलका लागि एन्फाको वार्षिक बजेट, कोरोना राहत वितरण, अनुशासन समेत गरी ५ एजेण्डा तय भएको छ ।

कोरोना प्रभावित जिल्ला, क्लव र खेलाडी एवं अफिसिलयललाई राहत वितरणका सम्बन्धमा समेत एन्फा कार्यसमिति बैठकले औपचारिक निर्णय गर्नेछ । कोरोनाबाट प्रभावित फुटबल समुदायलाई राहत वितरण गर्ने भन्दै फिफाले प्रत्येक देशका फुटबल संघलाई आर्थिक सहयोग गर्ने बताएको थियो । 

त्यस्तै, महामारीका बीच एन्फाले सबै प्रदेश र जिल्लासँग वार्षिक बजेटका बिषयमा प्रारम्भिक छलफल गरिसकेको छ । बैठकले यसअघि चैतका लागि तय संघको बार्षिक साधारण सभाको नयाँ मिति तय गर्नेछ ।

यस्तै, बैठकमा अनुशासनलाई समेत एजेण्डालाई बिषय प्रवेश गराईएको छ । अनुशासन विपरीत क्रियाकलाप गरेको भन्दै एन्फाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापालाई साधारण सभासम्मका लागि निलम्बन गरेको छ । 

एन्फाले सचिवालय बैठकले गरेको सोही निर्णयलाई कार्यसमिति बैठक मार्फत अनुमोदन गराउने तयारी छ । तर, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले थापामाथिको कारबाही विधिसम्मत नभएको भन्दै विरोध गर्दै आएका छन् । 


प्रतिक्रिया