बैङलोरबिरुद्ध पञ्जावको शानदार जित

आश्विन ९, २०७७ | काठमाडौं

कप्तान लोकेश राहुलको कीर्तिमानी शतकमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनले पराजित गरेको छ । राहुल आईपीएल इतिहासमा सर्वाधिक स्कोर बनाउने कप्तान समेत भए ।

 टस हारेपछि ब्याटिङ निम्तो पाएको पन्जाबले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राहुलको अविजित १ सय ३२ रन मद्दतमा ३ विकेट गुमाई २ सय ६ रनको उच्च योगफल तयार पारेको थियो ।

जवाफमा बेंग्लोर १७ ओभरमा १ सय ९ रनमा अलआउट भयो । आईपीएलमा राहुलको यो दोस्रो शतक हो । २०१३ मा राहुलले बेंग्लोरबाट विकेटकिपरको रूपमा आईपीएलमा आफ्नो पहिलो खेल खेलेका थिए । ट्वान्टी–२० मा उनले आफ्नो १ सय १२ रनको उच्च स्कोर उछिनेका हुन । 

राहुलले ६९ बलको इनिङ्समा १४ चौका र ७ छक्का प्रहार गरे । उनले मायंक अग्रवालसंग पहिलो विकेटमा ७ ओभरमा ५७ रन जोडेका थिए । अग्रवालले २० बल खेली ४ चौकासहित २६ रन बनाए । निकोलस पूरन १७ रन बनाए । बेंग्लोरका शिभम दुबेले २ र डेल स्टेयनले १ विकेट लिए ।

रवि विस्नोइ र मुरुगान अश्विनले समान ३ विकेट लिएपछि बेंग्लोर धराशायी हुन पुग्यो । सेल्डोन कोटरेलले सुरुआतमा देवदत्त पाडिक्कल र कोहलीलाई समान १ रनमा आउट गरे । मोहम्मद सामीले जोस फिलिप्सलाई शून्यमा एलबीडब्लू आउट गरेपछि बेंग्लोर ३ ओभरमा ३ विकेट गुमाई ५ रनको अवस्थामा थियो । 

बेंग्लोरबाट ओपनर आरोन फिन्च २०, एबी डी भिलियर्सले २८, वासिङ्टन सुन्दरले ३२ र शिभम दुबेले १२ रन बनाए । पञ्जाब पहिलो खेलमा दिल्लीसंग सुपर ओभरमा पराजित भएको थियो । बेङलोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।


प्रतिक्रिया