सहिद स्मारक ’बी’ डिभिजन : आरसीटी र ब्वाईज युनियन क्लब विजयी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १३, २०७७ | काठमाडौं

सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलको पछिल्लो खेलमा रानी पोखरी कर्नर टिम आरसीटी र ब्वाईज युनियन क्लब विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आरसीटीले नयाँबस्ती युवा क्लबलाई ४–२ गोल अन्तरमा र ब्वाईज युनियनले झम्सीखेल युथ क्लबलाई ४–० गोल अन्तरमा पराजित गरे ।

१० खेलाडीमा सीमित बनेको आरसीटीलाई जित दिलाउन अजित गुरुङले २ तथा सुरेन खवास र विश्व थापाले १–१ गोल गरे । नयाँवस्तीका लागि गणेश हमाल र सचु गुरुङले गोल गरे । रातो कार्ड खादै ६८ औं मिनेटमा आशिष चापागाईं मैदानबाट बाहिरिएपछि आरसीटी १० खेलाडीमा सीमित बनेको थियो । जितपछि आरसीटीले ७ खेलबाट ९ अंक जोडेको छ । नयाँ वस्तीको भने ११ अंक छ ।

सोही मैदानमा भएको अर्को खेलमा झम्सीखेलबिरुद्ध जित निकाल्न विनोद राईले ह्याट्रिक गरे भने टंकबहादुर स्याङतेनले थप गोल गरे । जितपछि ब्वाइज युनियनको ११ अंक भएको छ भने झम्सिखेलको ६ अंक छ । 


प्रतिक्रिया