आइसीसी वुमन्स टी –२० विश्वकप एसिया छनोटको नयाँ तालिका सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

वैशाख २४, २०७८ | काठमाडौं

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले खेल्ने आइसीसी वुमन्स टी –२० विश्वकप एसिया छनोटको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि सेप्टेम्बर २० देखि २६ सम्म हुने भनिएको सो प्रतियोगिता आगामी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा गर्ने निर्णय अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले गरेको हो । कोरोना महामारीको कारण देखाउँदै प्रतियोगिता सारिएको हो ।

प्रतियोगितामा नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, संयुक्त अरब इमिरेट्स युएई र आयोजक मलेसिया गरी ८ देशको सहभागीता रहनेछ । एसिया छनोटको विजेताले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने छन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा २०२३ मा हुने टि–२० विश्वकपको लागि स्थान बनाउने छन् । नेपाली महिला क्रिकेट टोली पनि पहिलो विश्वकप खेल्ने लक्ष्यमा छ ।


प्रतिक्रिया