सहारा क्लब र हिमश्री फुड्सबीच १० वर्षसम्म मुख्य प्रायोजन सम्झौता

आहा–रारा पोखरा गोल्ड कपलाई थप १० वर्ष मुख्य प्रायोजन गर्ने सम्झौतापत्र आदान प्रदान गर्दै हिमश्री फुड्स प्रालिकी कार्यकारिणी अध्यक्ष प्रेमकुमारी केसी र आयोजक सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ । तस्बिर : दीपक परियार/रेडियो कान्तिपुर । 

मंसिर १३, २०७९ | पोखरा

आहा–रारा गोल्ड कप फुटबल प्रतियोगिता अब ‘आहा–रारा पोखरा गोल्ड कप’ को नामबाट सञ्चालन हुने भएको छ । पोखराको व्यावसायिक घराना केसी ग्रुपले थप १० वर्ष मुख्य प्रायोजनलाई निरन्तरता दिने सम्झौता भएसँगै प्रतियोगिताको नाम फेरिएको हो । 

केसी ग्रुपको हिमश्री फुड्स प्रालिले प्रतियोगिताको मुख्य प्रायोजन गर्दै आएको थियो । सो अवधि १० वर्ष बढाउने प्रतियोगिता आयोजक सहारा क्लब र हिमश्री फुड्सबीच मंगलबार पोखरामा सम्झौता भएको छ । प्रालितर्फबाट कार्यकारिणी अध्यक्ष प्रेमकुमारी केसी र आयोजक सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

२०८८ सम्मका लागि भएको सम्झौता बमोजिम हिमश्रीले कुल २ करोड ७१ लाख रुपैयाँ क्लबलाई प्रदान गर्नेछ । पोखराका समाजसेवी, उद्योगी एवं पूर्व सांसद सूर्य बहादुर केसीको पहल र सक्रियतामा ०५९ मा आहा गोल्डकपमा हिमश्री फुड्सको उत्पादन आहा तयारी चाउचाउले मुख्य प्रायोजनको सम्झौता गरेको थियो । त्यसको १० वर्षपछि ०६९ आहा–रारा गोल्डकप नामकरणमा १० वर्षको करार भएकोमा अब आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता नामकरणसहित सम्झौता भएको हो । 

मुख्य प्रायोजनवापत पहिलो ३ वर्षमा वार्षिक १८ लाख, दोस्रो ३ वर्ष वार्षिक २१ लाख, तेस्रो ३ वर्ष वार्षिक २४ हजार र ०८८ मा २७ लाख रुपैयाँ चरणबद्ध रुपमा बुझाउने सहमति भएको छ । प्रतियोगिताको व्यवस्थापकीय पक्षको लागि प्रालिले प्रत्येक ३ वर्ष ४ लाख ५० हजार, दोस्रो ३ वर्ष ५ लाख २५ हजार, तेस्रो ३ वर्ष ६ लाख २५ हजार र ०८८ मा ७ लाख रुपैयाँ बुझाउने छ । 

पछिल्लो सहित ३० वर्षसम्मको दीर्घकालीन सम्झौता नेपाली खेल क्षेत्रमा मुख्य प्रायोजन बापत सबैभन्दा लामो समयसम्मको पहिलो सम्झौता हो । यसबाहेक हिमश्रीले स्व.सूर्यबहादुर केसी सहारा फुटबल एकेडेमीलाई गएको २ वर्षदेखि वार्षिक १५ लाख रुपैयाँ प्रदान गर्दै आएको छ । १० वर्षसम्मको उक्त सम्झौता बमोजिम ३० लाख रुपैयाँ प्राप्त भइसकेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

समारोहमा हिमश्री फुड्सका निर्देशक किरण केसी र प्रकाश केसीले बुबा सूर्यबहादुर केसीको खेल लगायत विभिन्न क्षेत्रमा सहयोगको भावनाको स्मरण गर्नुभयो । फुटबल मार्फत सामाजिक सेवामा क्रियाशील सहारा मोफसलको प्रतिष्ठित क्लब रहेको बताउँदै आफूहरुबीच अन्योन्याश्रित सम्बन्ध रहीआएको केसीले बताउनुभयो । 

सहारा क्लब पोखराले पहिलोपल्ट ०५८ मा क्याराभान गोल्डकप गरेको थियो । त्योसहित अब २२ औं संस्करणको प्रतियोगिता आगामी पुस १४ देखि २३ पोखरा रंगशालामा हुँदैछ । प्रतियोगितामा १० टिमले भाग लिनेछन् । कठिन परिस्थिति एवं विपन्न वर्गका बालकलाई शिक्षा, दीक्षा तथा फुटबल सिकाउन आवासीय सुविधासहित क्लबले पोखरा–१७ दोबिल्लामा स्व.सूर्यबहादुर केसी सहारा एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमा हाल तेस्रो ब्याचका १३ जना बालक आश्रित छन् । 


प्रतिक्रिया