पाल्पामा भलिबल प्रतियोगिता हुने

वैशाख २६, २०८० | पाल्पा

पाल्पामा आगामी विहिवारदेखि पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । सञ्जय मेमोरियल प्रतिष्ठानको आयोजना र पाल्पा भलिबल संघको सहआयोजनामा हुने प्रतियोगिता वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।

रानीमहल परिसरको बिच भलिबल कोर्टमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा ६ वटा प्रदेश, तीन विभागीय र आयोजक गरी १० टिमको सहभागिता रहने आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो ।

प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, मधेश, बागमती प्रदेश, एपीएफ, त्रिभुवन आर्मी, पुलिस र सह–आयोजक पाल्पा जिल्ला भलिबल संघको टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 


प्रतिक्रिया