नेपाल सेमिफाइनलमै रोकियो

जेष्ठ १२, २०८०

नेपाल, काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको सेमिफाइनलमै रोकिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको सेमिफाइनलमा नेपाल पाँचौं सेटमा काजकिस्तानसँग १५–७ ले पराजित भएको हो । यो जितसँगै काजकिस्तानले फाइनलमा स्थान सुरक्षित गरेको छ । अब काजकिस्तानले उपाधिका लागि आगामी आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेट ३०–२८ ले जितेको काजकिस्तानले दोस्रो सेट नेपाललाई १६–२५ ले सुम्पिएको थियो । 

तेस्रो सेट पनि नेपालले २५–१५ ले जित्यो । तर, चौथो सेटमा काजकिस्तानले २५–१८ ले आफ्नो पक्षमा पारेपछि खेलको निर्णय पाँचौ सेटबाट लिइएको हो । अन्तिम सेट काजकिस्तानले १५–७ ले आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गरेको हो । नेपालले तेस्रो स्थानका लागि आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने काजकिस्तान समूह बी को विजेता हो ।

यसैबीच, राखेप कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ । भारतले उज्वेकिस्तानलाई २५–१७, २५–२० र २५–१५ को सेटमा हराएर उपाधि भिडन्त पक्का गरेको हो । भारत समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने, उज्वेकिस्तानले समूह बी को उपविजेता बन्दै सेमिफाइनमा स्थान बनाएको थियो ।


प्रतिक्रिया