चौंथो टाइगर कप भलिबल प्रतियोगिता सोमबारदेखि

माघ १, २०८० | पोखरा

पोखरामा सोमबारदेखि चौंथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुने प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा माघ ६ गतेसम्म चल्ने छ । 

देशकै ठूलो पुरस्कार राशिको प्रतियोगितामा पुरुष र महिलातर्फ ६–६ टिम सहभागी हुँदै छन् । प्रतियोगितामा महिलातर्फ न्यु डायमन्ड स्पोटर्स क्लब, गण्डकी प्रदेश, तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब सहित भारत हरियाणा राज्यको महिला पुलिस क्लबको सहभागिता रहेको छ ।

पुरुषतर्फ श्रीलंकाको आर्मी टिम पहिलोपल्ट पोखरा आएको छ । प्रतियोगितामा सहभागी हेल्प नेपाल स्पोर्टस क्लबले समेत तीनजना पाकिस्तानी खेलाडी टिममा भित्र्याएको छ । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघसहित तीन विभागीय टोलीले खेल्ने छन् । 

टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले विदेशी टिमको सहभागिताले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने बताउनुभयो । उहाँका अनुसार पोखरा रंगशाला भलिबल ट्र्नेिङ सेन्टरमा झण्डै १० हजार जना अट्ने प्यारापिट तयार गरिएको छ । खेल तालिका अनुसार हरेक दिन महिला र पुरुषतर्फका २–२ खेल गरी चार खेल हुने छन् । खेल तालिका अनुसार लिग कम नक आउटका आधारमा प्रतियोगिता सञ्चालन हुनेछ ।

सोमबार उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । पुरुषतर्फको पहिलो खेल दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । महिलातर्फ सोमबार विभागीय टोली एपीएफ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । दोस्रो खेल त्रिभुवन आर्मी क्लब र चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड क्लबबीच हुनेछ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले नगद ५ लाख ५५ हजार ५ सय ५५, उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । 

प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई जनही नगद २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले एक्सटेपको १५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । 

प्रतियोगिताको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले गण्डकीकै गौरवको विषय रहेको टाइगर कपमा यस वर्ष विदेशी कलबको आगमनले थप उचाइ प्राप्त गरेको बताउनुभयो । 

प्रतियोगितामा टिकट काटेर हेर्ने दर्शकले समेत दैनिक गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजक टाइगर ग्रुप अफ पोखराका सचिव डीबी नेपालीले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न झण्डै १ करोड १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्दैछ ।


प्रतिक्रिया